बागमती र गण्डकी प्रदेशमा बहुसरोकारवाला मञ्च गठन

बागमती र गण्डकी प्रदेशमा बहुसरोकारवाला मञ्च गठन

22nd June, 2026

Share:

बागमती र गण्डकी प्रदेशमा दुग्ध क्षेत्रका बहुसरोकारवाला मञ्च गठन भएको छ । दुग्ध क्षेत्रको रुपान्तरण, विकास तथा प्रवद्र्धनका लागि प्रदेशस्तरमा भैरहेका गतिविधिहरुको समिक्षा गर्दै सरकारलाई सुझाव दिनुका साथै योजना तथा कार्यक्रम तर्जुमा र कार्यान्वयनमा सहकार्य गर्दै जाने उद्देश्यले प्रदेशस्तरमा बहुसरोकारवाला मञ्च गठन भएको हो । बागमती प्रदेशमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव ज्यूले र गण्डकी प्रदेशमा पशुपन्छी अनुसन्धान, विकास तथा प्रशिक्षण केन्द्रका महानिर्देशक ज्यूले संयोजन गर्ने गरी बहुसरोकारवाला मञ्च गठन भएको छ ।

अनौपचारिक समूह (लुज फोरम) को रुपमा गठन भएको मञ्चको बैठक हरेक तीन महिनामा बसि दुग्ध क्षेत्रको विकास तथा प्रवद्र्धनमा भइरहेका गतिविधि तथा उपलब्धीको समिक्षा गर्नुका साथै समस्या र समाधानका उपायहरुबारे छलफल गर्नेछ । साथै मञ्चको सुझाव वा सिफारिसका आधारमा कानून, नीति तथा कार्यक्रम र बजेट निर्माण र कार्यान्वयनका लागि सरकारी, सहकारी, गैरसरकारी, निजी तथा अन्य सरोकारवालाका बीचमा सहकार्य गर्दै जाने निर्णय भएको केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अम्मर बहादुर कुँवरले जानकारी दिनुभयो । 


समिक्षा गर्नुकाहेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोगमा सञ्चालित मिल्की वे कार्यक्रम अन्तर्गत केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड नेपालले आयोजना गरेको प्रदेशस्तरीय समन्वयात्मक बैठकको अवसरमा दुवै प्रदेशमा बहुसरोकारवाला मञ्च गठन भएको हो । २०८३ असार ५ गते हेटौंडामा भएको बैठकमा बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयका माननीय मन्त्री मधुसुदन पौडेल प्रमख अतिथिको रुपमा सहभागी हुनुभएको थियो । त्यस्तै असार ६ गते पोखरामा भएको बैठक तथा अन्तरक्रियामा गण्डकी प्रदेश कृषि, भूमी व्यवस्था तथा सहकारी मन्त्रालयका माननीय मन्त्री भिमबहादुर कार्की प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएको थियो ।

समन्वयात्मक बैठकमा प्रदेशस्तरमा दुग्धजन्य पदार्थको उत्पादन, गुणस्तर र खपतको अवस्था, दुग्ध क्षेत्रको प्रवद्र्धनका लागि भइरहेका प्रयासहरु तथा दुग्ध क्षेत्रका वर्तमान समस्या र समाधानका उपायहरुका बारेमा पनि छलफल भएको थियो । बैठकमा प्रदेश सरकार अन्तर्गतका दुग्ध क्षेत्र हेर्ने मन्त्रालय, मातहतका निर्देशनालय तथा कार्यालयहरु, सहकारी रजिष्ट्रारको कार्यालय, दुग्ध विकास बोर्ड, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, निजी डेरी उद्योगीका संघ संगठनका प्रतिनिधिको सहभागिता थियो । त्यस्तै हेफर प्रोजेक्ट नेपालका कार्यक्रम व्यवस्थापकहरु, केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष तथा सञ्चालकहरु, प्रदेश दुग्ध उत्पादक सहकारी संघ तदर्थ समितिका संयोजकहरु, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्षहरु लगायतका सरोकारवालाहरुको सहभागिता रहेको थियो ।