किसानदेखि केन्द्रीय दुग्ध सहकारी संघको नेतृत्व गरिरहेका अम्मर ब. कुँवर

किसानदेखि केन्द्रीय दुग्ध सहकारी संघको नेतृत्व गरिरहेका अम्मर ब. कुँवर

9th July, 2026

Share:

अम्मर बहादुर कुँवर नेपालको दुग्ध सहकारी आन्दोलनका एक अथक अभियन्ता, सफल सहकारीकर्मी तथा किसानका सच्चा हितैषीका रूपमा परिचित हुनुहुन्छ । उहाँको जन्म विक्रम सम्बत २०२१ साल भदौ ५ गते स्वर्गीय बुवा सन्तबहादुर कुँवर र स्वर्गीय माता पदमा कुमारी कुँवरको कोखबाट भएको हो । सामान्य कृषक परिवारमा जन्मिएर हुर्किनुभएका उहाँले बाल्यकालदेखि नै गाउँले जीवन, किसानको दुःख, संघर्ष, पशुपालनको महत्व र श्रमको सम्मानलाई नजिकबाट अनुभव गर्नुभयो । यिनै सिकाई र अनुभवले उहाँभित्र समाजका लागि केही नयाँ गर्ने अठोट जागृत गरायो ।

जीवनको प्रारम्भिक चरणमा उहाँको परिवार लम्जुङको नेटा गाविस वडा नम्बर ३, थानसिङ हालको मध्ये नेपाल नगरपालिका वडा नम्बर १० मा बसोबास गथ्र्यो । उहाँ ५ वर्षको हुँदा बुबा आमाले २ जना दाजुहरुसहित तनहुँ जिल्लाको व्यास नगरपालिका वडा नम्बर १० स्थित डिहीगाउँमा बसाई सर्नुभयो । कुँवरका श्रीमती दमयन्ती कुँवर, दुई छोरा भरत र उत्तम अनि एक छोरी मैना छन् । आफ्ना सन्तानप्रति उहाँ पूर्णरूपमा सन्तुष्ट हुनुहुन्छ । छोराहरुबाट उहाँका ३ नातिनी र दुई नाती भइसकेका छन् । छोरीका एक एक जना नाती नातिनी छन् । आफूले समाजका लागि काम गर्न सक्नुमा परिवारको तर्फबाट ठूलो सहयोग प्राप्त भएको उहाँ बताउनुहुन्छ । सफलताको आधार केवल धनसम्पत्ति नभई, परिवारको विश्वास, सहयोग र नैतिक बल पनि उत्तिकै महत्वपूर्ण हुने उहाँको अनुभव छ । 

कक्षा ६ मा अध्ययन गर्दागर्दै उहाँले भैंसीको स्याहार सुसारमा बुबा आमालाई सघाउन सुरु गर्नुभयो । उहाँ दूध क्यानमा हालेर बिक्रीका लागि नजिकैको दमौली बजार पनि जानुभयो । बिक्री नभएको दूधलाई फिर्ता ल्याएर तताउनु पथ्र्यो । दुग्ध विकास संस्थान अन्तर्गतको पोखरा दुग्ध वितरण आयोजनामार्फत सेवरमा २०३७ साल कात्तिक १ गतेदेखि दूध संकलन हुन थालेपछि कुँवरकै नामबाट दूध बिक्री गर्न थालियो । कहिले बुबासँग त कहिले आफैं दूध लिएर घरभन्दा एक सय पचास मिटरमा रहेको संकलन केन्द्रमा जाँदा दूध संकलन कार्यलाई अझ व्यवस्थित बनाउन कसरी सकिन्छ होला भनेर सोच्नुहुन्थ्यो । किसानले दुःख गरेर उत्पादन गरेको दूध बजारको अभावमा खेर जाने, उचित मूल्य नपाउने र बिचौलियाको भर पर्नुपर्ने अवस्थाले उहाँलाई गम्भीर बनायो । तनहुँको पहिलो संकलन केन्द्रको रुपमा रहेको सेवरमा २०४० सालमा सेवर दुग्ध उत्पादक संस्थाको रुपमा गठन भयो । पहिला संस्थानले आफैं परीक्षण गरेर लैजाने गरेकोमा संस्था गठन भएपछि संस्थाले परीक्षण गरेको किसानको दूधलाई पुनः परीक्षण गरी गुणस्तरका अधारमा मुल्य निर्धारण गरेर किसानलाई भुक्तानी दिन थालियो ।

२०४४ सालमा सेवर दुग्ध उत्पादक संस्थाको सदस्य बन्नुभएका कुँवरले त्यसको एक वर्षपछि नै अध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभयो । त्यो समय साझा संस्थाप्रति जनविश्वास त्यति बलियो थिएन । किसानहरू संस्थामा आबद्ध हुन हिच्किचाउँथे । संस्थागत अनुभव पनि सीमित थियो । उहाँले गाउँ गाउँ पुगेर किसानलाई संस्थाको महत्वका बारेमा बुझाउनुभयो । सहकारी ऐन, २०४८ लागुभएपछि उहाँले सहकारीको महत्वका बारेमा समुदायलाई बुझाउँदै संस्थामा किसानहरुको सहभागितालाई बढाउनुभयो । २०५० साल फागुन ११ गते सेवर दुग्ध उत्पादक सहकारी संस्थाको रुपमा डिभिजन सहकारी कार्यालय तनहुँमा दर्ता गर्दा सदस्यहरुले उहाँलाई नै अध्यक्ष चयन गरे । सहकारीमार्फत दूध बिक्रीलाई व्यवस्थित गर्न सुरु गरिए पनि मिल्क होलिडेका कारण किसानहरुको दूध फ्याक्नुपर्ने अवस्था श्रृजना भयो । 

वि.सं. २०५२ सालमा राष्ट्रिय दुग्ध विकास बोर्डमार्फत भारतको गुजरातस्थित खेडा जिल्ला दुग्ध उत्पादक सहकारी संघ (अमुल डेरी) को अवलोकन गरेपछि उहाँलाई दूधको विविधकरण गर्ने र मुल्य अभिवृद्धिमार्फत किसानलाई थप प्रोत्साहन दिनुपर्छ भन्ने प्रेरणा प्राप्त भयो । किसानको दैनिक ३२ लाख लिटर दूध संकलन र प्रशोधन गर्न सक्षम भएको सहकारी संघको अवलोकनपछि तनहुँमै दुग्ध व्यवसायलाई प्रवद्र्धन गर्ने गरी जिल्ला संघ गठन गर्ने अवधारणा सुरु गरेको उहाँको भनाई छ । भारतमा किसानले आफ्नै स्वामित्वमा विश्वस्तरीय सहकारी सञ्चालन गरी किसानलाई प्रतिफल दिलाएको दृश्यले उहाँलाई गहिरो प्रभाव पार्यो । 

जिल्लाभरका ८ वटै दुग्ध सहकारीले संकलन गरेका दूधलाई एकै ठाउँमा जम्मा गरी बिक्री वितरण गर्ने उद्देश्यसहित २०५३ सालमा उहाँकै अध्यक्षतामा तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघ लिमिटेडको स्थापना भयो । यो केवल एउटा संस्था स्थापना गर्ने काम मात्र थिएन, जिल्लाभरका दुग्ध उत्पादक किसानलाई एउटै साझा लक्ष्यमा जोड्ने अभियान थियो । त्यसपछिको एक वर्षमै अर्थात् २०५४ साल साउन ६ गतेदेखि संघमार्फत दूधको नियमित संकलन, बिक्री तथा वितरण सुरु भयो । दमौली बजारमा रहेको कार्यालयबाट आन्तरिक रुपमा बिक्री गर्दा ७ महिनासम्म दैनिक १३ लिटरसम्म मात्रै बिक्री भयो । बिकल्पको रुपमा चिया पकाएर समेत बिक्री गरियो । २०५४ माघ ७ गतेबाट दैनिक १० लिटर दूधको चिया पकाएर बिक्री सुरु गरेकोमा पछि ४० लिटरसम्म दूधको चिया बिक्री भयो । व्यास नगरपालिका ५, सेती मादीको दोभानमा रहेको परासर आश्रममा ९ दिनसम्म खिर पकाएर प्रसादको रुपमा वितरण गरेपछि जिल्लाभरमा आन्तरिक खपत बढ्न थाल्यो । यो तनहुँ जिल्लाको दुग्ध व्यवसायका लागि एउटा ऐतिहासिक उपलब्धि थियो । यसले किसानलाई आफ्नो उत्पादनको सुनिश्चित बजार दियो र नियमित आम्दानीको आधार तयार गरिदियो । 

२०५६ सालमा तत्कालीन व्यास नगरपालिका वडा नं. ३ का किसानको दुहुनो भैंसी मरेपछि बीमा बापतको रकम भुक्तानीका लागि उहाँले कृषि विकास बैंक दमौली शाखामा पहल गर्नुभयो । बैंकले आनाकानी गरेपछि जिल्ला प्रशासन कार्यालयमा त्यसबिरुद्ध जिल्ला संघको नामबाट निवेदन दिनुभयो । तत्कालीन प्रमुख जिल्ला अधिकारी जनार्दन नेपालको निर्देशनपछि बैंकबाट किसानले ६ महिनापछि क्षतिपुर्ति प्राप्त गरे । सिडिओ नेपालको सल्लाहका आधारमा सहकारीमार्फत किसानको पशुधन सुरक्षण (बीमा) कार्यक्रमको अवधारणा सुरु गर्नुभयो । उहाँले पशुधन सुरक्षण नियमावली नै बनाई तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघको तर्फबाट सर्वप्रथम सेवर दुग्ध उत्पादक सहकारी संस्थामार्फत पशुधन सुरक्षण कार्यक्रम लागु गराउनुभयो । डिभिजन सहकारी कार्यालय तनहुँमार्फत सहकारी विभागमा दर्ता गराएरै सुरु भएको बीमा कार्यक्रमको तत्कालीन सभामुख रामचन्द्र पौडेलले उद्घाटन गर्नुभएको कुँवरले अहिले पनि स्मरण गर्नुहुन्छ । २०५६ सालमा तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघले सहकारीमार्फत नेपालमै पहिलोपटक चिलिङ भ्याट सञ्चालन गर्नमा कुँवरले महत्वपूर्ण भूमिका निभाउनुभयो । डेनिडा सपोर्ट प्रोजेक्टले उपलब्ध गराएको एक हजार लिटर क्षमताको चिलिङ भ्याट नेपाल सरकारमार्फत ५० प्रतिशत अनुदानमा जिल्ला संघमा जडान गरी विहान र बेलुका गरी दिनमा २ पटक दूध संकलनको सुरुवात गर्नुभयो । 

कुँवरको सोच केवल दूध संकलन र बिक्रीमा सीमित थिएन । उहाँले दुग्ध व्यवसायलाई उद्योगमा रूपान्तरण गर्ने दूरदृष्टि राख्नुभयो । आर्थिक वर्ष २०६९÷७० बाट दूधबाट दही, घ्यू, नौनी, पनिर लगायतका विभिन्न दुग्धजन्य पदार्थको उत्पादन गर्दै व्यवसायलाई विविधिकरण गर्ने अभियान सुरु गर्नुभयो । यसले संस्थाको आर्थिक अवस्था मजबुत बनाउनुका साथै किसानको उत्पादनको मूल्यसमेत बढायो । ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना भयो र स्थानीय उत्पादनप्रति उपभोक्ताको विश्वास बढ्न थाल्यो । दैनिक झण्डै २ हजार लिटर दूध प्रशोधन गरेर सुरु भएको विविधिकरण कार्यले ३ हजार ५ सय लिटर दूधको प्रशोधन गर्न सफल भयो । 

उहाँकै नेतृत्वमा तनहुँ जिल्लाका छरिएर रहेका १९ वटा दुग्ध उत्पादक सहकारी संस्थाहरु एउटै छातामुनी आबद्ध भए । एकद्वार प्रणाली लागू गर्दै सबै सहकारी संस्थाबाट १३ हजार लिटर दूध संलकन हुनुका साथै ३ हजार ५ सय लिटर प्रशोधन र बाँकी रहेको दूधलाई निजी डेरी उद्योगलाई बिक्री गर्ने व्यवस्था मिलाइयो । यसले किसानलाई बिचौलियाको शोषणबाट मुक्त गराउन मद्धत गरेको छ भने बजारिकरण कार्यलाई व्यवस्थित बनायो । आज पनि तनहुँलाई सहकारीमार्फत जिल्लाभरका दुग्ध किसानको दूध व्यवस्थापनको सफल नमुनाका रूपमा हेरिन्छ ।

वि.सं. २०५३ देखि २०८२ सालसम्म निरन्तर तनहुँ जिल्ला दुग्ध उत्पादक सहकारी संघको अध्यक्षका रूपमा काम गर्नु उहाँको नेतृत्व क्षमताको प्रमाण हो । झण्डै तीन दशक एउटै जिल्ला संघको नेतृत्व गर्दै उहाँले पारदर्शिता, इमान्दारी र किसानमुखी व्यवस्थापनलाई प्राथमिकता दिनुभयो । नेतृत्व भनेको पद मत्रै नभएर जिम्मेवारी भएको उहाँको बुझाई छ । उहाँले दुग्ध सहकारी संस्था र संघलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठाएर किसानको साझा सम्पत्तिका रूपमा विकास गर्नुभयो । 

जिल्लामा सफल नेतृत्वपछि उहाँको अनुभव राष्ट्रिय स्तरसम्म पुग्यो । २०५० सालमैं उहाँ नेपाल राष्ट्रिय दुग्ध उत्पादक किसान संघको केन्द्रीय सदस्य बन्नुभयो । २०५३ सालमा नेपाल राष्ट्रिय दुग्ध उत्पादक किसान संघ र केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेड एकीकरण भई बनेको अन्तरिम समितिको सञ्चालक सदस्य बन्नुभयो । २०६० मा केन्द्रीय सञ्चालक, २०६६ सालबाट सचिव, २०७० सालबाट बरिष्ठ उपाध्यक्ष हुँदै वि.सं. २०७९ सालमा संघको अध्यक्ष बन्न सफल हुनुभयो । यो यात्रा एउटा ग्रामीण किसानको प्रतिनिधि राष्ट्रिय नेतृत्वसम्म पुगेको गौरवपूर्ण इतिहास हो । सफलताको यात्रा कहिल्यै सहज हुँदैन । कुँवरले पनि अनेकौँ चुनौतीहरूको सामना गर्नुभयो । समस्या आएपछि समाधान खोज्ने उहाँको बानीले नै उहाँलाई सफल नेतृत्वकर्ताका रूपमा स्थापित गर्यो । उहाँको विश्वास छ कि संघर्ष नगरी कुनै परिवर्तन सम्भव हुँदैन ।

उहाँ आफ्नो सफलतामा सरकारी निकायको योगदानलाई पनि उच्च सम्मानका साथ सम्झनुहुन्छ । तत्कालीन जिल्ला विकास समिति, व्यास नगरपालिका, जिल्ला पशु सेवा कार्यालय लगायतका निकायले गरेको सहयोगलाई उहाँले सधैं कृतज्ञताका साथ स्मरण गर्नुहुन्छ । पशुुसेवा कार्यालय तनहुँका तत्कालीन प्रमुख कबिन्द्रप्रसाद सापकोटाले सहकारीमार्फत पशुधन सुरक्षण (बीमा) कार्यक्रम कार्यान्वयनका लागि जिल्ला संघ र अध्यक्षको हिसाबले आफुलाई सहयोग गरेकोले किसानको पशुधनको क्षतिमा मल्हमपट्टी लगाउन सकिएको उहाँ बताउनुहुन्छ । सरकारी निकाय र सहकारीबीचको सहकार्यले किसानको हकहित र आयआर्जन बृद्धिका लागि धेरै काम सफल भएको उहाँको अनुभव छ । किसानले आफ्ना उत्पादनको उचित मूल्य पाउँदा, उनीहरूको जीवनस्तर माथि उठ्दा र गाउँमा आर्थिक गतिविधि बढ्दा आफूले गरेको मेहनत सफल भएको अनुभूति गरेको उहाँ बताउनुहुन्छ । 

आज नेपालको सबैभन्दा ठूलो चुनौतीमध्ये एक युवाशक्तिको विदेश पलायन हुनु हो । यस विषयमा उहाँको धारणा स्पष्ट छ । उहाँका अनुसार नेपालमा सम्भावना छैन भन्ने होइन, सम्भावनालाई देख्ने दृष्टिकोणको अभाव छ । विदेशमा सिकेको सीप, अनुभव र अनुशासनलाई आफ्नै देशमा प्रयोग गर्न सके नेपालमा रोजगारीको पर्याप्त अवसर सिर्जना गर्न सकिन्छ । उहाँ युवालाई विदेशभन्दा स्वदेशमा उद्यम गर्न प्रेरित गर्नुहुन्छ । गाउँका बाँझा खेतबारी, खाली गोठ र सुनसान बस्तीलाई पुनः जीवन्त बनाउन युवाको भूमिका सबैभन्दा महत्वपूर्ण हुने उहाँको विश्वास छ । 

नेपाली समाजमा खानपानको संस्कृतिमा पनि परिवर्तन आवश्यक रहेको उहाँ बताउनुहुन्छ । विवाह, भोज, सभा, तालिम गोष्ठी तथा विभिन्न सार्वजनिक कार्यक्रममा विदेशी पेयपदार्थको सट्टा दही, मोही तथा अन्य दुग्धजन्य परिकारको प्रयोग गर्नुपर्ने उहाँको सुझाव छ । यसले नेपाली किसानको उत्पादनको बजार विस्तार हुने, स्वदेशी उद्योग बलियो बन्ने, स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने र अनावश्यक खर्च जोगिने उहाँको तर्क छ । अहिले विभिन्न सरकारी तथा गैरसरकारी निकायले आयोजना गर्ने कार्यक्रमहरुमा मोहीको प्रवद्र्धन भइरहेको पाउँदा उहाँलाई निकै खुसी लागेको छ । 

रित्तिँदै गएका नेपाली गाउँहरू फेरि भरिभराउ भएको कुँवर हेर्न चाहनुहुन्छ । रोजगारी तथा अध्ययनका लागि युवाहरु विदेशीएका कारण खाली भएका घर, बाँझिएका खेतबारी, सुनसान बनेका विद्यालय र उजाडिएका गोठ देख्दा उहाँको मन दुःखी हुन्छ । उहाँ विश्वास गर्नुहुन्छ कि कृषि, पशुपालन, सहकारी र स्थानीय उद्योगलाई आधुनिक प्रविधिसँग जोडेर विकास गर्न सकियो भने गाउँमा पुनः समृद्धि फर्काउन सकिन्छ । 

कुँवरको जीवनले हामीलाई एउटा महत्वपूर्ण शिक्षा दिन्छ इच्छाशक्ति, इमान्दारी, दूरदृष्टि र निरन्तर मेहनत गरेमा सामान्य मानिसले पनि समाजमा असाधारण परिवर्तन ल्याउन सक्छ । एउटा सामान्य कृषक परिवारमा जन्मिएर हजारौं किसानको भविष्य बदल्ने अभियानको नेतृत्व गर्नु, सहकारी आन्दोलनलाई उद्योगमा रूपान्तरण गर्नु, राष्ट्रिय स्तरसम्म नेतृत्व सम्हाल्नु र आज पनि युवालाई स्वदेशमै सम्भावना खोज्न प्रेरित गरिरहनु उहाँको जीवनको सबैभन्दा ठूलो उपलब्धि हो । उहाँको संघर्ष, समर्पण र सेवाभावले नेपाली दुग्ध सहकारी आन्दोलनलाई मात्र होइन, समग्र ग्रामीण अर्थतन्त्रलाई नयाँ दिशा दिएको छ । आगामी पुस्ताले उहाँको जीवनबाट प्रेरणा लिएर स्वदेशमै उत्पादन, उद्यम र आत्मनिर्भरताको मार्ग रोज्न सके उहाँले देखेको समृद्ध गाउँ र आत्मनिर्भर नेपालको सपना अवश्य साकार हुनेछ ।

साभारः आवर खबर डक कम